images
images

७ महिनामा २ खर्ब ३ अर्बको कृषिजन्य वस्तु आयात, चामलमात्रै १० अर्ब ५८ करोडको भित्रियो

काठमाडौं । कृषिप्रधान देश नेपालमा पछिल्लो सात महिनाको अवधिमा २ खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा २ खर्ब ३ अर्ब रुपैयाँबराबरको विभिन्न प्रकारका कृषिजन्य वस्तु नेपाल आयात भएको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी जनावर, वनस्पतिजन्य बोसो र तेल ६६ अर्ब २० करोड रुपैयाँबराबरको आयात भएको छ । यस्तै, धान, चामल गहुँ र मकैलगायतका खाद्यान्न ३६ अर्ब ३५ करोड रुपैयाँबराबरको आयात भएको छ । देशमा चामलमात्रै १० अर्ब ५८ करोड रुपैयाँको आयात हुँदा धान १४ अर्ब ५१ करोड रुपैयाँ र ९ अर्ब ५ करोड रुपैयाँको मकै आयात गरिएको छ।

यसैगरी, ५ अर्ब ४८ करोड रुपैयाँको आलु, २ अर्ब १३ करोडको प्याज, ६ अर्ब ८१ करोडको लसुन, २५ अर्बको तरकारी, ३ अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, ५ अर्ब ४९ करोडको चिया भित्रिएको तथ्यांकले प्रस्ट्याएको छ । ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ ।

यस्तै, चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आवको माघ मसान्तसम्म १ खर्ब ५१ अर्ब ३२ करोड १७ लाख रुपैयाँ बराबरको डिजेल तथा पेट्रोल आयात भएको भन्सार विभागले जनाएको छ । त्यसबापत सरकारले ६२ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन छ । चालु आर्थिक वर्षको ७ महिनासम्म ६६ अर्ब रुपैयाँको मात्रै डिजेल आयात भएको छ भने ३७ अर्ब ६४ करोड रुपैयाँको पेट्रोल आयात भएको छ । ३५ अर्ब ४७ करोड रुपैयाँ बढीको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी) आयात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्