काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट÷संवाद गर्नेगरी ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ । सो कार्यका लागि पार्टीले प्रदेश समितिलाई निर्देशन दिएको छ ।पार्टीका केन्द्रीय पदाधिकारीको संलग्नतामा यही फागुन तेस्रो सातादेखि सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने आज बसेको रास्वपाको सचिवालय बैठकले निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिए ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरे ।
पार्टीले सदनमा उठाउनुपर्ने राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता तथा राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको उनले बताए । बैठकले पार्टीका विविध गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र्यापिड एक्सन टिम (र्याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको सो पार्टीले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्यको राजनीतिक अभिमुखीकरणका लागि यही फागुन ९ र १० गते आयोजना हुन लागेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ । यसैगरी पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीमा प्रदेश समितिबाट प्राप्त सिफारिसबमोजिम कविन्द्र कार्की (काठमाडौँ) र राधिका तिमल्सिना (चितवन) को नाम अनुमोदन गरेको छ ।
पार्टीका पदाधिकारी तथा सदस्यको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेस गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थी मात्र संलग्न हुनुपर्ने रास्वपाले निर्णय गरेको छ । शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी नरहने साथै पार्टीको कुनै संलग्नता नरहने कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए ।
प्रतिक्रिया दिनुहोस्