images
images

एकै वडामा १५५ मेगावाट क्षमताको तीनवटा हाइड्रोपावर बन्दै

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-४, मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएका हुन् ।

ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

त्यसैगरी, हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरूङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठवटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीनवटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

‘जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छौँ,’ गाउँपालिका अध्यक्ष पुनले भने ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७, भारवाङमा विद्युतगृह रहने अपर म्याग्दी-१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरू गरेको छ । विसं २०८१ वैशाख २८ गतेदेखि पूर्वाधार निर्माण गर्न सुरू गरेको आयोजनाले कुल पाँच किलोमिटर सातसय मिटर सुरूङमध्ये पाँचसय ३० मिटर सुरूङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

उनका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरूङ र विद्युत गृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युतगृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत गृहको पहुँचमार्ग निर्माण गरेको छ ।

नाउरादेखि ६ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युतगृहको लागि पूर्वाधार बनाउने र सुरूङ निर्माणको तयारी गरिएको छ । सुरूङ निर्माण र विद्युतगृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए ।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरूङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले जानकारी दिए ।

आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युतगृहबाट सुरूङ खन्ने तयारी गरिएको छ ।

जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्