images
images

प्रजातन्त्र दिवस मनाउन समिति गठन

काठमाडौँ । सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो । त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा पूर्व राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । सो अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिए । उनले लोकतन्त्रको मर्म अनुसार काम गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रम तय गरिएकाले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको स्पष्ट पारे ।
“यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ । देशका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिन हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको पनि बताए । सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना गर्ने विशेष समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र बेलुन उडाउने कार्यक्रम पनि हरेक हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्