images
images

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १० जनालाई, पर्वतारोही पूर्णिमा श्रेष्ठ देखि डा.ओम मूर्ती अनिल सम्मको नाम

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुराउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुने भएका छन् ।

यस्तै, चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्