
विगत १२ वर्षदेखि आजको खबर डटकम नामक अनलाइन पत्रिकामार्फत हामी निरन्तर पत्रकारिता गर्दै आएका छौँ । १२ वर्षअघि ‘अबको समय अनलाइन पत्रिकाको नै हो’ भनेरै हामीले आजको खबर सुरु गरेका थियौँ । यस अवधिमा अनलाइन पत्रकारिता संख्यात्मक हिसाबले अत्यन्त बढी देखिए पनि गुणात्मक हिसाबले सन्तोषजनक नदेखिएको साँचो हो । तथापि, सबै अनलाइन अखबारहरू निराशाजनक छैनन् । अनलाइन मिडियाले पत्रकारिताका मूल मान्यता र मर्महरूलाई सही ढंगले नबुझ्दा र तिनको पालना नगर्दा अनलाइन मिडियाप्रति आमदृष्टि सकारात्मक हुन नसकेको हो भन्ने लाग्छ । यसमा हाम्रो पनि केही जिम्मेवारी पक्कै छ । तर पनि यस अवधिमा हामीले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन, प्रसारण, भाषिक शुद्धतामा जोड, ‘कपी–पेस्ट’कारिताको अन्त्य गर्ने प्रयास गरेका छौँ । बढीभन्दा बढी सामाजिक जिम्मेवारीलाई महत्त्व दिँदै निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारितामार्फत आमजनमा सूचना र विचार सम्प्रेषणको कर्तव्य पूरा गर्ने हरसम्भव प्रयास गरेका छौँ । त्यसैले त आजको खबरलाई पाठकहरूले अत्यधिक रुचाइदिनुभएको छ ।
नेपालमा मिडिया हाउसहरू धमाधम बन्द हुन थालेका छन् । प्रिन्ट मिडिया र साना लगानीका मिडियाको अवस्था निकै नाजुक छ । ठूला भनिएका मिडियाले पनि व्यावसायिकतामा जोड दिन नसक्दा धरासायी बन्दै छन् । पत्रकारहरूले महिनौँसम्म पारिश्रमिक नपाउने अवस्था छ । पत्रकारको रोजगारीको सुरक्षा छैन, जुनसुकै बेला जागिर गुम्ने अवस्था छ । यस्तो अवस्थामा सानो लगानी र थोरै जनशक्ति भए पनि केही युवाले देशमै रोजगारी प्राप्त गरून्, मिडिया क्षेत्र थोरै मात्र भए पनि व्यावसायिक बनोस् र पत्रकारिता पेसा अलिकति भए पनि मर्यादित बनोस् भन्ने हाम्रो उद्देश्य छ ।
यस अवधिमा हामीले पाठक, विज्ञापनदाता, शुभचिन्तकलगायतको धेरै माया, साथ, सहयोग र उत्साह प्राप्त ग¥यौँ । त्यही माया, साथ, सहयोग र उत्साहले हामीले ‘पत्रकला’ नामक साप्ताहिक पत्रिका प्रकाशन गर्ने प्रेरणा प्राप्त भएको हो । यो १२ वर्षको अवधिले हामीलाई धेरै सिकायो । नेपाली मिडिया, पत्रकारिता, विज्ञापन बजार, पाठक र मिडियासँग सम्बन्धित निकायको अवस्था हामीलाई राम्रोसँग थाहा छ । यति हुँदाहुँदै पनि छापा माध्यमको अखबार प्रकाशन शुभारम्भ गर्नु हाम्रो दुष्प्रयास मात्र हुन सक्छ भन्ने हामीलाई लाग्दैन । तपाईं पाठकको माया, शुभेच्छा, सहकार्य र सहयोगले हामी सफल हुन्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ । आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छौँ । धन्यवाद !
………………….
रेनुका बराल
अध्यक्ष
आजको खबर मिडिया प्रा.लि.
प्रतिक्रिया दिनुहोस्