
डिग्री पास गरेको दाइ गायक बन्छ, भाइ चिया पसल गरेर बसेको छ । श्रीमतीलाई लाजमर्दो हुन्छ ।
‘चिया पसल गरेर करोडपति बन्छु रे ! २० रुपैयाँको चिया बेचेर करोडपति बनिन्छ ?’, श्रीमतीलाई पत्यार लाग्दैन । ‘छोरो दिनदिनै बढ्दै छ, केही सोच्नुपर्दैन ?, श्रीमतीको प्रश्न छ ।
‘उसले यही देशमा केही गर्ने सपना सुनाउँछ तर वातावरण छैन’ भन्छे श्रीमती ।
‘वातावरण त आफैँले बनाउने हो नि !’, उसले भन्छ ।
‘जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ, त्यस दिन लिन आउनू’ भन्दै श्रीमती उसलाई छाडेर माइत जान्छे ।
उसको चिया पसलमा मायामा धोका पाएका केटाहरू आएर रुन्छन् । ‘चिया पसलमा, सार्वजनिक ठाउँमा रुने हो त ?’ भन्छ साथीले ।
‘रुने ठाउँ खै ?’ भन्छ रुन्चे ।
त्यसले उसको दिमागमा क्लिक गर्छ । प्रभु बैंकसँग प्रस्ताव गर्छ र ऋण लिन्छ ।
गर्लफ्रेन्डको रूपमा कुसुम शर्मा आउँछिन् । कलात्मक तरिकाले डेकोरेसन गरेर रेस्टुरेन्ट खोल्छ । प्रखर चिया पसललाई त्यहीँ सार्छ । रुवाबासी सेन्टर खोल्छ । गायक दाइलाई पनि रेस्टुरेन्टमा सार्छ ।
केटाहरू भरमार आउँछन् र धमाधम रुन थाल्छन् । उसको व्यापार फस्टाउँछ । एकपछि अर्को कम्पनी खोल्छ । झन् माथि झन् सफल हुँदै जान्छ अनि श्रीमतीलाई ल्याउँछ र गर्लफ्रेन्डलाई धोका दिन्छ ।
गर्लफ्रेन्ड चोट सहन नसकेर पुरुषको रूप धारण गरेर रुवाबासी सेन्टरमै आएर रुन्छे । केटा मात्र रुने ठाउँमा केटी किन आई ? सबै आश्चर्यमा पर्छन् । उसले भन्छे, ‘केटीको मन चँै कटक्क खाँदैन ? दुख्दैन ? रुने ठाउँ चाहिँदैन ?’
अब उसलाई अर्को आइडिया फुर्छ– केटीलाई पनि रुने ठाउँ त खोल्नुपर्छ !
निक्कै मर्मस्पर्शी र समसायिक गीत बनाएर चर्चामा आइरहने गायक प्रकाश सपुतले ‘यो मुटु कटक्कै’ बोलको नयाँ गीत ल्याएका छन् । उनले केटाको आँसु बेचेर हालसम्म निकै भ्युज कमाइसकेका छन् । यस गीतमा रुन र रुवाउन गायक प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन् । प्रकाश सपुतकै शब्दलाई सुदीप सागरले यो गीत एरेन्ज गरेका हुन् ।
भिडियोलाई गायक प्रकाश सपुतले नै निर्देशन गरेका छन् । म्युजिक भिडियोमा सपुतसहित कुसुम शर्मा, रोशनी कार्की, विजय पुन, प्रवीन भट्ट, सुनिल बिके, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मा छन् ।
म्युजिक भिडियोलाई अहिले दर्शकले मनपराइरहेका छन् । त्यससँगै केही कुरामा दर्शकहरू मुसुमुसु हाँसी पनि रहेका छन् । जस्तै ः सडकको पोलमा श्रीकेश तेलको विज्ञापन, गाडीमा, घडीमा शिवम् सिमेन्टको विज्ञापन, प्रभु बैंकको विज्ञापन, आफ्नै भाइहरू सुनिल र प्रखरलाई अगाडि राखेर देखाउने कला, उनको डबल रोल आदिआदि ।
म्युजिक भिडियोबाटै सामाजिक सन्देश दिन माहिर सपुत सोही कारण आलोचित पनि बन्ने गरेका छन् । यस गीतमा पनि उनलाई आलोचना गर्नेहरू चुप लागेर बस्नुपर्ने अवस्था छैन । जस्तै: श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड राख्नु, महिलालाई प्रगति गर्ने साधनको रूपमा मात्र देखाउनु, महिलालाई बिना कारण धोका दिनु, फेरि पनि महिलाको आँसु बेच्ने योजना बनाउनु आदिआदि ।
जे होस् यस पटक भने सपुतको गीतले आलोचना कम र धन्यवाद बढी कमाउने छ ।
प्रतिक्रिया दिनुहोस्